Monday, 31 March 2014

राबतको राजधानी मास्तिरको भूगोल

       पथ्र्योदाश प्रमिल
         Email: duo.fello@gmail.com

राबतको राजधानी मास्तिरको भूगोल

पर्खालभित्रबाट

हिजोआज लेखनमा राजधानी प्राय: प्रतीकात्मक प्रस्तुत भइरहेछ , सायद राजधानी बिस्तारै सपनाको शहरमा परिणत हुन थालेको हो कि ? हुन त राजधानी भित्रपनि फरक फरक अर्धब्यासका राजधानी वृतहरु जन्मिएका छन । लेखकहरुले  सबैभन्दा बाहिरको वृत्तिय परिधिबाट क्रमसः भित्र तिरका गोलाहरुलाई उप्काएका छन लेखनमा । प्याज जति भित्र पुग्यो त्यतिनै गन्हाउंछ, उस्तै प्रतित हुन्छ राजधानी पनि । खैर, राजधानी सुख र सौखको बिम्बात्मक प्रयोग हो । नेपाली लेखनको श्रीबिन्दु काल देखिकै यो बहुचर्चित बिम्बबातै न्वारन भएको एउटा नयाँ कविताकृति हो “ राजधानी मास्तिरको राजधानी ” ।
अरुको ढाडको भरमा उभिएर दौडिने सपना अधिकांशले देख्छन, गज्जब छ साहित्यको दुनिया पनि स्थापित, चर्चित र शिरमा हिउँ फुलेकाहरुसँगनै भूमिका लेखाउनै पर्ने साँघुरो मानसिकताबाट यो गुज्रिरहेकै बेला रावतको कविताकृति अलिक भिन्न तवरले अवतरित भएको हो । आफ्नो अनन्य मित्र र समकालीनले जस्तो कुनै पनि लेखकलाई कसैले बुझेको हुदैन । निरज भट्टराई समकालीन लेखक हुन अनि राबत जस्तै गजलकार र कबिपनि । निरजले एकदमै  नजिकबाट देखेका छन कविता भित्र र बाहिर दुबैको राबत र पोखिएका छन भूमिका बाहिर भरि ।
सामाजिक दुराबस्थाको न्यायिक चित्रण सहज होइन र कहिल्यै हुदैन पनि । सरल शब्दको प्रयोगमा बोधगम्य भाब संयोजन राबतको मौलिक बिशेषता हो । कृतिभरि समाजको कालो पाटो र देशको जर्जर कालखण्ड सालिक बनेर उभिएको छ । हामी आफैले भोगेको दुखान्त जिन्दगीको काब्बिक लेख्य स्वरूपनै राजधानी मास्तिरको राजधानी हो । आम समुदायले भोग्ने बेदनाको हृदयस्पर्शी प्रस्तुतिकरणले जति कृतिलाई मौलिक र पठनीय बनाएको छ , उतिनै बिम्बको घुमाउरो प्रयोगले सशक्त पनि । पोखरी जमेको पिडा र परिवर्तन नभएको प्रतिकुलतासंगै, भेल बगेको आँसु एकै चोटी सम्बोधन गरेका छन कविले “सम्बोधन”मा
जसरी
छोडेर गएकाथ्यौ 
खाँदाखांदैको आधा गाँस
गोडदागोडदैको आधा पाखो
रुँदारुंदैको आधा आँसु
हो, त्यहींबाट सम्बोधन गरिरहेछु तिमीलाई –.............(सम्बोधन)

सम्बोधन कविताभरि समयको अभिब्यक्ति दिएका मात्र छैनन कविले, निस्प्रिय चेतनाद्वारले देख्ने आशामोह पनि पोखिदिएका छन जस्तो कि

त्यता कतै बालकको हातमा
कागजको जहाज देख्यौ भने,
सम्झनु-पत्र सकुशल तिम्रो हातमा पर्यो......... (सम्बोधन)                               

शब्दहरु आफैमा प्रीतिकर हुदैनन् तर सृजनाको तिलस्मी बहुपासले गज्जबको इन्द्रेणी बनाउन सकिँदो रहेछ शब्दहरुको । त्यसो त राबत आफ्नो यहि क्षमताले पहिलेनै लेख्नेहरु माझ चर्चित छन । उनि लेखेर मात्र होइन जितेर पनि चर्चित छन धेरै कविता स्पर्दाहरु, सिधै हृदयको कुनामा हिर्काएर संवेगिय बनाउने उनको बिशेषताले । उनले जुनसुकै रङ्गमा पनि उतारेका छन मातृस्नेह र प्रेम सायद रेखाहरुसँग खेल्ने र स्केच बनाउने बानीले पनि अभ्यन्तरबाट केहि पोखिएको होला - मगजको “सबकन्सस”

तिमी आउँदा
सबैथोक बिर्सिए पनि
नबिर्सी ल्याउनु दुई-थोक मन र मुस्कान

सँघारमा
रारा र फेवाको जलघडा बोकेर
पर्खिरहेको मै हुनेछु । ( निमन्त्रणा )     

म कविता कृतिको विश्लेषणात्मक लेखन मन पराउदिन, राम्रो र नराम्रोको न्यायिक तराजुमा कसैको सिर्जनापनि जोख्न मिल्दैन । भाबको धार्नी पुर्याउन खोज्नु भन्दा अर्को मुर्खता केहिहुनै सक्दैन । मैले जे लेख्न खोजेको छु त्यो राबतको कविताकृति भित्र भेटिएका स्पटिक अनुहारहरु मात्र हुन । यसको अर्थ यो होइन “राजधानी मास्तिरको राजधानी” कविताको अलौकिक पुस्तक हो । बरु यो भाबको सन्तुलित प्रयोगको नविनतम उदाहरण भने हो ।

क्रान्तिचेतको रेतिले लाग्नेगरि धारिलो बनाईएका कविता हरफहरुले मथिंगलमा रवाफिलो हमला गर्छन घरिघरि । कुनै कविता पनि छैनन परिवर्तनको लालटिन बालेर निर्मम दमनको चारकोसे झाडीको सफरमा ननिस्केका तर केहि संगको उज्ज्यालो परैबाट प्रष्ट देखिन्छ । कवितामा असन्तुस्टिको ज्वालामुखी छोड्नु पहिले कर्तब्यबोधले निथ्रुक्क भिजेका  छन कबि । पुरापुर सचेतना भेटिएको छ आवाज उठाउने तरिकामा पनि ।

संधैसंधै आँखामा ठोक्किने
संधैसंधै बाटो छेक्न खोज्ने
संधैसंधै एकसुरले फर्फराइरहने
यो देशको झन्डाजस्तै,
त्यो पिपलको हाँगामा झुन्डिएको
रातो सलबरमा गन्हाउने
तात्तातो विर्य कसको हो ? ( कसको हो ?)

यदि गाँस, बास र कपासको नाममा मैले
देश छोड्नु पर्यो भने क हुन्छ ?

जवाफ दिनु पर्नेछ देशले
आउने पिंढीहरुलाई ।   ( जवाफदेहि ) 
शब्दहरुमा दृष्यानुभूत दिन सक्नु लेखकको सफलता हो, पात्र आफै जुर्मुराएर पाठकको ठिक आगाडी उभिएर बताएजस्तै लाग्छन कविता । आयातित पात्रहरुको जटिल जीवन चित्रण गर्नु र अतिरन्जना थप्नुको रोगबाट कबि कंहि पनि प्रवाभित छैन बरु उसले आफ्नै छाती भित्रको पखेराबाट खोजेको छ पात्रहरु र खुला पारिदिएको छ हृदयको आकाश । यस्ता भुइँपात्रहरुको कथानक प्रस्तुतिले कवितालाई सजिब तुल्लाएको हो ।
  
परिबर्तन उठानमात्र होइन अठोट पनि हो ,भ्रमको जालो पन्छाएर दृढताको सिल्प खोप्न त्यति सजिलो छैन जति सजिलै सोच्न सकिन्छ । आँट र बिश्वासको आंचलले पुरै छाती ढाकिनु पर्छ र दमनको चापले च्यातिनु पर्छ सहनशीलताको सिमारेखा अनि मात्र जन्मिन्छ दूरी मेट्ने अद्भूत साहस । यो विषमताको पत्रपत्र केलाएर पाठकलाईनै बेचैन हुनेगरी छाती भरि डढेलो लगाउछन कविले । अनुभुतिको पेरुंगोमा गज्जबसँग मच्चिनु पर्छ अनि मात्र स्खलन हुन्छ भाबको यो संवेग ।
सक्नुहुन्छ भने,
ठुन्क्याइदिनुस मेरा यी
ल्याप्चे लाउंदा-लाउंदा लाटा  भएका औंलाहरु
फुटाईदिनुस् मेरा यी
सपना मात्रै देख्ने आँखाहरु
सक्नुहुन्छ भने,
जफत गरिदिनुस मेरा यी
फिता छिनेका चप्पल र नाम्लो

तर यसपाला म हजुरको सहरबाट
रित्तो हात फर्कने छैन ।       ( ओ, समय! )   

निरजले लेखेका छन राबतका केहि स्वतन्त्र लेखनका उपजहरु मास्टरपिस कहलाइनेमा कुनै शंका छैन र मेरो पनि सहमति छ यसमा । केहि कविताहरु “सो-पिस” जस्तै बजारिया अर्थतन्त्रको मर्मानुभुतीका उपज जस्तै लाग्छन तर पनि काबिक्ता हराएर कुनै पनि कविता नपुंसक बनेका छैनन् त्यो नै सबलता हो ।     

कवितामा भाबको आंधीमात्र होइन उस्तै बिम्बको ग्ल्यामरमा कबि उत्रिएका छन । मलाई कँही अल्झाइदिए र सोचको गहिराई तिर धकेलिदिए भने यस्तै पङ्क्तिहरुले गरे । बिम्बको यो घनिभूत सम्योजनमा उनको कला गज्जबको देखिएको छ । उनको सर्जकिय क्षमतको परिचय बनेर सङ्ग्रहभरी छरिएका यिनै हरफहरु हुन, जसमा शब्दको बेजोड प्रयोग छ  ।

भुइंमा पछारेर काला बादलहरु
कुल्चिदिन्छु हरिया खुट्टाहरुले
र, झुण्ड्याइदिन्छु घाँटीमा सुनौला बालाहरु ।   ( समय चक्र )  

यौन कँही न कँहीबाट सुख र सन्तुस्टिको पर्यायवाची बनेर देखापरेको अनुभुत हुन्छ कृतिमा, बिम्बहरुको कठघरामा बडो खरो उतारीदिएका छन राबतले “सेक्स साइकोलोजी” । प्रेमलाई बिशिष्ट अर्गाजम बनाएर प्रस्तुत गरिएको छ शिर्ष कवितामा पनि । मदिराले पनि छोडेको छैन केहि कविताहरुलाई तर यो लेखनको पुरातन बिशेषता हो, खैर जे होस प्रस्तुतिको शालिन कसिले यो घनिभूत बनेको छ ।

म पनि राबतको लेखनीको छिटो मसी हुँ र म पनि अभिभूत भएको थिए लेखनमा आफूलाई भेट्टाएर । लामो समय पछी काब्बिक लेखनको “ग्याप” लाई राजधानी मास्तिरको राजधानीले हटाईदिएको छ र कविता लेखनको वृतमा ठुलो हलचल ल्याएको पनि छ । रावतको यो कामुक उपस्थिति सदा रहोस शुभकामना । इति श्री ।

तेरो यो पुस्तैनी भट्टीबाट
तन्तनी पिएर कीरा परेको छ्यांङ्
आइज ,
हाम्ले पनि चिच्याई-चिच्याई भन्दिउ –
“हामी पनि हौ यंहाको मालिक-मालिक्नी ,
हाम्रो पनि छ तिम्रो जस्तो राजधानी ।   ( राजधानी मास्तिरको राजधानी )

   

Tuesday, 25 March 2014

मोफसल , मेहफिल र पीपलबोट

पर्खालभित्रबाट 

सिर्जना र सृजनाकरको खोजि गर्दागर्दै ममा पिपलबोटको छाप गहिरोसँग परिसकेछ, नेपाली लेखनको कालखण्डमा बलियो उपस्थिति जनाएका भूपी शेरचन, शंकर लामिछानेको नाम सम्झने बित्तिकै मगजको कोस्टकमा पीपलबोट भन्ने शब्द स्वत: आइहाल्छ । सुनेको  मात्र  “ पीपलबोट मेहफिल ” ले त यस्तो तरङ्ग उमारिदिन्छ भने त्यसका भोगीहरुको अनुभब कस्तो होला ?
Patharyodash Pramil 

सब कुरा समयको हो, समयले मलाई मोफसलसँग बढी परिचित गराएको छ । राजधानीको स्कर्ट भन्दा मोफसलको धोति लामो छ । जत्रै भएपनि मोफसलले भोग्ने भोगाईको दर्द समान र उस्तै छ । मैले आफ्नै आँखाले देखेको सत्य हो यो । राजधानीमा पनि सुर्ताको खाडल होला , धोति भन्दा स्कर्ट महँगो छ , धोति लगाउनेहरुलाई कसैले गन्दैनन ।  

यो आजको कुरो हो , आजको ग्ल्यामर । राजधानी एकै ठाउँ बिरलै भेट हुन्छ । भेट भैहाले पनि एकले अर्कोलाई नदेखेझैँ आँखा छलेर हिड्छ । विभाजनका रेखाहरु फरक फरक छन, कोहि लेखनी धारले अलग्गिएका छन , कोहि पुस्तेनी दुरीले टाढिएका छन। खैर राजधानी टुक्रिएको छ । हिजो समय सायद यस्तै थिएन, सबैजना प्राय: भेट हुन्थे सुन्दै पनि तरङ्ग छोड्ने “ पिपलबोट ” ।
कोहि कोहि अलिक भद्दा अनुभब गर्दा हुन न्युरोडको नेवारी “येला” र हाम्रा सर्जकहरुको “लोकल”  सँग । सृजनाकै इतिहाससँग समकक्षि उभिएको छ “मदिरा” । हरिभक्त र मनु सम्झनेले मदिरा बिर्सिन्न । भूपिले त कविता भरिनै छारिदिएका दिएका छन । नपिउनेले असहज अनुभूत नगरुन तर यो सत्य हो ।

त्यसो त सृजनाकरसँग उसको कृतिभित्र सात्क्षत्कार गर्दा भूगोलको परिमितिमा नअल्झेर भावनाको बायुपंखी विमानमा कावा खान हराइन्छ तैपनि उसको सिर्जना उ बाँचेको भूगोल र समयले कंहि न कंहि बाट खासखास ठाउँमा नियन्त्रित भएको हुन्छ । त्यै भएर हुनसक्छ प्राय: स्रस्टाहरु नियमित रुपमा जम्मा हुने र अनुभब साटासाट गर्ने बैचारिक चौतारीको पक्षमा भेटिन्छन । सामान्यतया जस्तै छलफलबाट निस्कने निष्कर्षको रसोस्वादन केहि सर्जकहरुले गर्छन र लेखनीको शसक्त प्रयोगमा फड्को मार्छन । समयका बलिया हस्ताक्षर प्राय: यस्तै सगोलबाट निस्किएका छन ।

मैले बुझेको कुरा , धारले सिर्जना फरक हुनुपर्छ , नत्र पाठक मोनोटोनस अनुभब गर्छ तर सर्जक होइन । सर्जकहरु सिर्जना धरातल भन्दा धेरै माथिबाट नजिक हुन्छन। सृजनाको गेम अनबिटएबल हो, कोहि सानो ठुलो हुदैन ।   

मोफसलमा राजधानीको प्रभाब छ, केहि पुरानो , केहि नयाँ । मौलिकता नभएको हैन छ, नहराओस फेरी मोफसल मोफसल रहदैन । सबै कुरामा झैँ राजधानी आफुलाई सशक्त ठान्छ लेखनमा पनि तर यसले केहि गुमाएको छ , जुन राजधानी बाहिर भेटिन्छ चिया पसलमा , सानासाना कार्यक्रम हरुमा र कहिलेकाँही “लोकल पार्टीमा” । अलिअलि भएपनि आत्मियता बचेको छ, त्यहि गोरेटो  बाटोबाट सिर्जना मझेरी पुगिन्छ ।  

देश राजधानी भित्रबाहिर दुवै तिर फोहरी हुँदै गैरहेछ, कहिले चौपट्ट फोहरी अमिलो गनाउछ । साहित्य पनि अछुतो बसिदिएन , कहिले काँही राजनीतिको तुवाँलोमा यो पनि हराउन थाले जस्तो लाग्छ । स्रस्टा सामाजिक हो , उसमा यसको प्रभाब पर्नु स्वभावत: होला तर उसको कृतिमा यसको प्रभाब पर्नु हुदैनथ्यो तर परेको कुरा कटु सत्य हो । साहित्तिक संथामा पोलिटिकल वृक्षारोपण हुन्छ, सुन्दै घिनलाग्दो लाजमर्दो । कतिपयले यस्तै पगरी गुथेर, साहित्यको मानमर्दन गरेका छन । भेटिन्छन टिकौली अनुहारहरु मोफसल मोफसलइतरमा जताततै, मैले पनि देखेको छु ।  

दूरी जहाँपनि छ, फरक ठुलो र सानोको हो । शंका छैन , बनिसकेको घरबाट बन्दै गरेको घर होचो देखिन्छ । “प्यारेन्टसिप” र “कोर्टसिप” भएन भने दुधे बालक हुर्कदैन, हुर्काउने कर्तब्यबोध आफै हुने हो । धेरै स्थापित लेखकमा यो बोध छैन , सबैमा हैन । समपुस्तिहरुको लहडमा लेखकीय स्वभाब अडेको छ । पुस्तौली स्थान्तरणबारे पुरानो पुस्ता र नयाँ पुस्ता दुवै बेखबर बसेर कँहा पुगिने होला ?

खुट्टा तान्ने र बन्देजको रणनीति गर्ने डरपोकहरुलेनै हो ,अरुलाई आबश्यकनै छैन । आउने बाटो बारे सोच्नु पर्नेमा पछाडी आउनेहरुको गतिमा अल्झिनछन कति । भेटेको छु राजधानीको टुक्रा भेटमा र मोफसलमा प्राय: ।    

मेहफिलमा दुवै कुरा भेटिन्छन गुण र दुर्गुण । लेख्नेहरुको भाषामा कहिलेकाँही यो जम्छ, मज्जाले जम्छ धेरै कुरा बिर्सिदिएर । लेख्नेहरु प्राय बिर्सन्नन सस्तो भएर पनि भिड नलाग्ने चिया पसल शहरको कुन कुनामा छ । लेखक कहिल्यै सेलिब्रेटी हुदैन मात्र उसको कथानक सेलेब्रेसन हुन्छ । प्राय: चियाले खिया लागेका दाँत वा सोमरसले निलोतुथो परेका ओठमा भेटिन्छ शहरको नामुद लेखक ।

मोफसलको एउटा सदस्य हो पोखरा । यंहा पनि चल्छ मेहफिल लहर । निरपेक्ष हुँदा शहर  आफै मेहफिल हो, तर टुक्रा मेहफिल झन धेरै चल्छ । पोखराको मेहफिलमा पनि उस्तै रोमान्चकता छ र रहिराखोस पछिसम्म ।

पोखरामा साहित्यलाई मायागर्नेहरू शनिबार झन धेरै ब्यस्त हुन्छन । सरकारी भएरै होला, पोखरा नदीपुरमा अलग्गै चिनिने भवन / स्कूल छ बालमन्दिर । भेट हुन्छ तन्नेरी मन सँग, कमै भेट हुन्छन अहमबादी, ब्यस्त र बरिष्ठ भनाउदाहरु ।

पोखरा सानो छ, लेख्नेहरु सीमित छन र अनुयायीहरु पनि कम छन तर यसको अर्थ पोखरा कमजोर छ, हैन । एकजुट भएर लेख्नेहरुले पोखरालाई हिजो पनि जोगाएका थिए आज पनि जोगाईरहेछन । यो परम्परा रहिराखोस सदियौ सम्म, मेहफिल र मोफसल । इति श्री ।  

Monday, 17 March 2014

धुँवाको धागोले बनाएको आकृति




स्रस्टाले  हृदयको भित्रिकापदेखि शब्दको झंकार अलापेर, बिम्बको कारागार भित्र पाठकलाई बन्दि गराउनु र उसलाई उसकै कल्पनासिल्पले कोरेको भुगोलका पहाडहरुमा , छिटपुट आकाशमा देखिने बादलहरुलेझैँ लुकामारी खेलाउनु कम्ता मुस्किल र सकसको कुरो हैन सायद । उसो त  लेखकभित्र हुने यहि जादुमयी तिलस्मी क्षमताले उसलाई समयको निर्मम कठघरामा खरो उतारी दिएको छ र उ सफल भएको पनि छ , भित्रै सम्म थिलथिलो हुने गरि बिथोल्न चत्यानी छातीहरुलाई सिर्जनाको हथौडाले । पश्चिमीकथाको पात्र थोरको जस्तै यो आश्चर्यजनक हतियारले क्षणभरमै नयनहरुलाई सिमसार त क्षणभरमै ओठहरुलाई चन्द्र मुखी बनाइदिएको छ । बिचरो निम्छरो पाठक शब्दहरुको रंगहरुमा आफुलाई खोज्दा खोज्दै हराउँदो हो र प्राय अलिअलि आफ्नो पनि आकृति मिल्ने रेखाहरु भेट्टाएर खुसीले तरलिकृत भएर जथाभाबी पोखिन्छ  पनि होला । म पनि धेरैपटक दिग्भ्रमित भएको छु कतै अन्तरको सिसि क्यामेराबाट लेखकले मेरो जिन्दगी नियालेर शब्दको सिलसेबरमा रुपान्तरण त गर्दैन ? अन्तिमपल्ट एउटा कविता कृतिमा , म यस्तै दिग्भ्रमको नशाको उतारचढाबले अन्तस्करणबाट उथलपुथल भएको थिए, परेलिको ढोकाबाट कैद गरिसकेको आकृतिलेनै , मथिंगललाई यसरी हल्लाएको  सत्यलाई स्वीकार्न नसकेर आँखाहरु धमिला भए, मैले अनायासै हार्ड कभरको आन्तिम पृष्ठमा औलाहरुले सुम्सुम्याउन पुगेछु । समुन्द्र जस्तै त्यंहा, त्यँही कविको अर्धकदको आकिर्ती उभिएको थियो, जसले मेरो मनलाई चंगा बनायो, निलो आकाश तिर फर्कायो, उडायो र धागो काटिदियो, म अब पुरै टुटेको थिए र हावाको झोक्काले स्वछन्द नियन्त्रण गरेको थियो मलाई । म जब आकाशको गहिराईमै हराउने सोचमा निमग्न थिए , झोक्काले कंहि कतै अक्करमा लगेर पछारी दियो । कविले त्यस बेलाको मलाई पनि आँखीझ्यालबाट नियाल्न बिर्सेनछ , म जस्किए ईश्वरले जस्तै कविले पाठकलाई नचाएर , निरोशैलीमा मुरली त फुक्दैन ??
मेरो घरको अघिल्तिर
जब स-साना नानीहरु भुरुङ खेलिरहन्छन
मलाई लाग्छ ,
ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ
ऊ नालले बेरेर फुत्त फालिदिन्छ मान्छेलाई दुनियाँमा
र ताली बजाई रहन्छ मान्छेको नाचमा

ती नानीहरुलाई जस्तै
स्वयम् ईश्वरलाई पनि थाहा नहुन सक्छ
जब मान्छे रोकिन्छ- ऊ गुडेर कँहासम्म पुग्छ।        
                    भुरुङ धुँवाको धागो
अबको नँयापृष्ठमा लेखक उस्तै रहदैन कि भन्ने शंकाको आभास सम्म पनि हुन पाएन न त कविले सुरुमा जस्तै जिन्दगीका टुक्रा खुसि र टुक्रा दुखहरुमा संसारिक चेतको तिखो धारले हिर्काउन छोड्यो बरु लगातारको नाभीदिलको प्रहारले मुर्छित बनाईरह्यो । कविताको दुईचार हरफमै यतिधेरै उर्जाको घनिभूत संयोजन , बिम्बहरूको सामन्जस्य प्रयोग र भावको स्फटिक सम्प्रेषण कस्तो  अन्तस्करणबाट सम्भब हुँदो हो ? सुक्ष्मतर घटनाहरुमा यसरी मानबिय संबेदना पोखिदिएर , भाबका छालहरुसंगै उत्ताल समुन्द्रमा सफर गराईदिए पछी पाठक टिठ लाग्ने गरि नआत्तिनै कसरी सक्छ ? सक्दैन ।
राजधानीबाट पोखरा अवतरण भएको दुई –चार दिनमै कविताकृतिले रेक्टर स्केल क्षमतामाथिको कम्पन मेरो दिलमा छोडेको थियो त्यसो त  लेखन र लेखकीय स्वभाबको ध्रुबसत्तिय जटिल समीकरण शब्दको मालाभित्र कसैगरि उनिदैन र कसैको सर्जकिय अन्तर चेतबाट सृजनात्मक प्रसव बेदनापछी जन्मिएको नवजात शिशुलाई  मूल्यांकनको तराजुमा राखेर मोलतोल गर्नुभन्दा  असहिषणु र अन्याय के होला ? मलाई मगजको खिरखिरावाटबाट अक्षरहरु गुथेर प्रसंशाको  पहाड ठड्याउन छैन, म जे लेखेको छु मन आफै अभिभूत भएर लेखेको छु , अरु कबि चेतना मोहबाट निरपेक्ष बसेर । दुनियाको कुन प्राणी आफुले जिन्दगीमा काटेको दूरीभरिको व्यथाबाट अलग्गिएको छर ? कसको जीवनको कन्तुरमा जतनसाथ राखिएको छैन होला आफ्नो छातीमा अरु नटराज नाचेको दृश्यको रिल । कविले कथानकको जालो फालेर प्रतेक कवितामा इन्द्रजाल बुन्छ र थाहै नपाई पाठकलाई कविताको पात्र बनाएर  अनपेक्षित अन्त्य गर्दिन्छ । सायदै त्यस्तो पाठक छैन होला , जो आफु कथानकको बाटो हिडेर भर्खर आइपुगेको अस्विकार गरोस । सेवा निवृत सैनिकले बताएको युद्दकालिन अनुभुती जस्तै ।
आज, फर्की हेर्दा
कोइलाहरू थिएनन बाटोमा
अरुले टिपी सकेछन भुइँबाट

समयले अफ्ठ्याराका कोइलालाई
हीरा बनाई दिएछ ।
     जम्मै अफ्ठ्याराहरु जलाएर ..... धुँवाको धागो


   मानबिय प्रवृतिको कुरूप स्वरूप पनि शब्दहरुको हिउँ तन्न्नामा, सफेद टल्किएको भेट्टाउदा, जसरी तातो फलाम उपर चिसो पानीको स्पर्शले मौनता तोडेर बाष्फीकृत भैदिन्छ, उस्तै शैलीमा रछ्यानी मन बढारेर, बेचैन छोडेर हराईदिन्छ कविता । जस्तोकि हिउँ बर्सिएको रातको भोलिपल्ट, बादल हराएपछि कन्चन हिमालले, कँहा हो कँहा दिल चिमोटेर अनौठो उन्माद छादिदिन्छ, उस्तै गरि हृदयको फ्रेमलाई पारदर्शी तुल्याएर छातीको अन्तरमा गहिरो सँग घरि-घरि हिर्कउन्छ कविले । कलिलो पोथ्रा मस्तिष्कको निश्चल क्यानभासमा भाबको इन्द्रेणी पोखिदिँदा , संवेगको हिउँ नदि पग्लिन्छ र परेलीको ओठबाट बगेको पत्तै हुँदैन ।
त्यँहा बिहानी बस्छे ,एक्लै
तर घरमा देखिने को हुन कसैलाई थाहा छैन भन्छन
    फुच्चे गाइड बताउँछ धुँवाको धागो

म सोच्थे –
कोल्टे फेरिरहने समयको कुइनोले लागेर
एकदिन जब खुत्रुके टुट्ने छ
त्यति बेला
यी कागजका सिक्काले
आफ्नो बचपन किन्ने छु
              खुत्रुक्रे  धुँवाको धागो


पोखरा हटलाइनमा प्रकाशित लेख
शृंखलाबध्द उतार-चढाब पस्किरहने समयपनि भोगाईको परिमितिमा निन्याउरो मुख बनाउनेगरी खुम्च्याएर प्राणीहरुको जिन्दगीभरिको सफरको नक्शापनि निमेषभरमै हेर्न सकिने बनाईदिएछ कविले, कस्तो सरलीकृत गर्नसक्ने खुबीले होला ? प्रतेक हरफमा प्रश्नको तगारो उभिरहन्छ, र अनूत्तरित फर्कन्छ । बिजगणितको हिसाबमा चिंन्ह्को फरकले उत्तरमा बिशाल अन्तर परेजस्तै, शब्दको थोरै स्थानान्तरणमा पनि कति सजक हुन सकेको होला ,कबि ? कविता स्वयं कबि र समालोचक बाहेकले पढ्दैनन् भन्ने प्रश्नहरुको इजलासमा, पर्खाल बनेको धुँवाको धागोको खिलापमा, कुन महापण्डित प्रवक्ताको डिलबाट कराउन हिम्मत राख्छ अब पनि ? कविताको नाममा निबन्ध लेखेर, बितृष्णाको खोलो बगाउनेहरुको युग यो होइन भन्ने प्रमाणको दस्ताबेज हो यो कृति ।



कविकै भाषामा पनि लेखन भन्दा पूर्व कल्पनाको भुइँगलमा डुल्ने दुईचुल्ठे सिर्जना कयैगुणा चन्चल र प्रीतिकर लाग्छे , लेखे पछी संधै अपुरो, अधुरो जस्तै । घरि-घरि लेखननै भाबको बधशाला हो कि जस्तो पनि लाग्छ , लेखेपछि थोरै शब्दहरुमात्रै जीवित भेटिने । आवाज र संवेगलाई पनि उतार्न मिल्थ्यो भने छाती भित्रको घबराहट म सबै रंगिन नै उतरिदिन्थे । खिया लागेको म्युजियमको ढोका भित्र जस्तै , कृति पढ़िसकेपछी धुँवाको धागोभरि जिन्दगीका सादा र रंगिन तस्बिरहरुको कोलाज नाचिरहे ।
सुनेको छु
आज बर्षौपछि जब त्यो ढोका खुल्यो
भित्र यौटा कविता भेटियो

जसको अनुहार हुबहु तिमी जस्तै छ ।
     नोस्टाल्जिया 
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
मिति २०७० चैत्र ०३ गते पोखरा हटलाईन प्रकाशित 

Saturday, 15 March 2014

खर्पनभरिको प्रबिधि र रित्तो बजार


खर्पनभरिको प्रबिधि र रित्तो बजार

पर्खाल भित्रबाट                                                                                   पथ्र्योदाश प्रमिल
प्राबिधिक क्याम्पसको प्रवेश लगत्तै मैले सिकेको र मलाई सिकाईएको कुरा थियो, औसत नेपालीले प्राय देख्ने र प्राय नपुग्ने सपना हो प्राबिधिक शिक्षा र उसबेला म भाग्यको होचो उचाई भएकाहरुको अजंगको भिडले माथितिर हेर्दा देख्ने सपनाको ताजमहलको सानो झुण्डको सदस्य भएकोमा पुलकित भएको थिए पनि , कुनै ठुलो युद्ध जितेर सकुशल फर्केको सिपाई जस्तै । हामीहरुलाई राम्ररी अवगत गराईयो पनि थोरै नेपालीहरु संग मात्र शिक्षाको पंहुँच छ , पहुँच हुनेमध्धे थोरैले मात्र माध्यमिक तह उत्रिण गर्छन, ति मध्धे थोरैले मात्र बिज्ञान बिषय पढ्छन र बिज्ञान पढ्ने मध्धे पनि थोरैले मात्र प्राबिधिक बिषय अध्ययन अनुमति पाउछन । मैले पनि कण्ठस्थ पारेको थिए, केहि औपचारिक कार्यक्रममा काम लाग्ने सम्भाबनाले । तर मैले कहिल्यै पनि सिकिन वा सिकाईएन अध्ययन पछी  त्यो फिल्टर जनशक्त्ति के गर्छ र कंहा जान्छ । 

धेरै पछी मात्र हामीहरुले थाहा पाएका थिएउ मान्छेलाई मान्छेले नै मेशिन बनाउने शृंखलाको यो पनि एउटा पाटो हो , र केहि महत्वाकांक्षीहरु हामीहरुलाई सपना देख्ने मेशिन बनाएर मानसिक सन्तुस्टी लिईरहेछन । हामीहरुले गरेका मानसिक ग्रान्ड स्टन्डहरुको फाइदा लुटेर । स्वाभाविक हो , बलिया बाघहरुलाई खोरमा थुनेपछी बनको बाटो लुरे स्यालहरुलाई पनि हिड्न डर हुदैन । सम्मानको मसलेदार ललिपप देखाएर नेपालभित्रकै खोपडी क्षमतालाई रुग्ण बनाइएको छ । क्षमता र गुणस्तरलाई अचानो बनाएर , व्यापारी माफिया प्रवृति हाबी भैदिएको छ बजारभरि र बाध्यबनाइएको छ जबरजस्ती पलायन हुनलाई उत्पादित ब्यपारिक बौदिकता । आम समुदायको हस्तक्षेप्कारी उपस्थितिको अभाबमा च्याउ उम्रन सहज ओसेपिलो छायाँ थलो बनेका यो र यो जस्तै अन्य क्षेत्रहरुमा यो प्रवृति बाँसझैँ झ्याँगिएको स्पस्ट हो ।

अर्थशास्त्रको सामान्य नियमको पनि हेक्का नराखेर , निरन्तर उत्पादन गरिरहेछ देशले निकासी लायक  सस्तो मूल्यका मानब रोबोटहरु बर्षौदेखी र सट्टामा रेमिट्यान्स भित्राएको पार्टीमा गजधुम्म बसेर खित्का छोडीरहेछ , पौराणिक राक्ष्यशि पारामा कतै पनि अभिभावकीय ममता अनुभब नहुने गरि ।भलै,अब पनि  सुन्नेहरुले सुनेर पनि नसुने जस्तो नगरुन र देख्नेहरुले नदेखे जस्तो नगरुन जुन कुरा छापाहरुमा बारम्बार छापिएको छ, यत्ति हो ।

प्रसङ्ग बदलौ, यसरी गिर खेलिदा खेलिदै पनि प्राबिधिक शिक्षालयहरुमा केहि राम्रा र अनुकरणनिय कामहरु भने भैराख्छन, तर भएका कामहरु न बाहिर आए न ल्याउने प्रत्यननै गरियो । हामी पनि केहि गर्न सक्छौ है, भन्ने दृढता बोकेकाहरु पार्श्वको बटम लाइनमै  अल्मलिए र शैक्षिक अराजकताको यो चपेटोमा परे पनि । अब हामी प्राबिधिकरुपले कति सक्षम छौ भनेर खोज्ने बेला आएको छ  । सन् १९७२ मा इन्जिनियरिंग अध्ययन संस्थान( त्रिभुवन बिश्वबिध्यालय)को स्थापना पछी, संस्थान भित्र भिन्न प्राबिधिक तहका हज्जारौ साना तथा ठुला प्रोजेक्टहरु बर्षेनी निर्माण हुन्छन , जुन प्रोजेक्टहरु कुनै परिवर्तन नगरी वा थोरै परिवर्तन गरेर स्थानीय रुपमा उत्पादन र प्रयोग गर्न सकिन्छ । प्रोजेक्ट निर्माणमा सकेसम्म नया र नौलो प्रयोगमा ग्राह्यता दिइने भएकोले एक आपसमा उस्तै प्रबिधि दोहरिने सम्भावना पनि न्युन हुन्छ । इलेक्ट्रिकल क्षेत्र अन्तर्गत पर्ने सोलार प्यानल, माइक्रो हाइड्रो, पिको हाइड्रो, ओपन टबाइन, विधुतीय भार सन्तुलन उपकरण सम्बन्धि प्रोजेक्टहरु , इलेक्ट्रोनिक्स र कम्प्युटर क्षेत्र अन्तर्गत पर्ने जीएसएम ( मोबाइल फोनले सन्चालन गर्न  सकिने ), जीपीएस ( स्थानअनुसार चल्ने ), रिमोट कन्ट्रोल, ताररहित श्रब्यदृश्य प्रसारक आदि जस्ता प्रोजेक्टहरु बहुआयामिक र प्रयोगमुलक छन । यस्तै प्रोजेक्टहरु काठमाडौँ विश्व-बिध्यालय पोखरा विश्वबिद्यालय र पुर्वान्चल बिश्व बिध्यालयमा पनि सम्पन्न  हुन्छन जसको लागि लामो सूची र फराकिलो विश्लेषण चाहिन्छ ।

यस्तै जनस्तरमा “ होम अटोमेसन एण्ड सेक्रूटि ” सम्बन्धि धेरै प्रोजेक्टहरु प्रयोग हुनासक्छन । स्पेशल कार्डको आधारमा, बोलीको आधारमा, वा अनुहारको आकृतिको आधारमा मात्र प्रवेशगर्न मिल्ने सिस्टम, तापक्रमको आधारमा स्वचालित मेशिन, मादक पदार्थ खाए नखाएको नाप्ने ब्रेथलाइजर, गाडीको गति नाप्ने यन्त्र जस्ता सामान्य प्रविधिमा आधारित समानहरु सजिलै निर्माण र प्रयोग गर्न सकिन्छ ।लेखकले एकपटक नेपाली सेनाले आयोजना गरेको मिलिटरी प्रोजेक्ट सम्बन्धि सेमिनारमा सहभागी  हुने अवसर प्राप्त गरेको थियो । नेपाली सेनाले बम निस्क्रिय पार्न प्रयोग गर्ने रोबोट विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ जुन अतिरिक्त क्षमतासहित नेपालमै उत्पादन गर्न सकिन्छ । शत्रुको गतिबिधि निरिक्षण गर्न जासुसी रोबोट , जस्तो सुकै ठाउमा हिड्न सक्ने “ अल टेरान ” रोबोट , स्वचालित फायरिंग राइफल आदि सेना तथा प्रहरीको लागि अत्याबश्यक सामानहरु चाहेको खण्डमा न्युनतम तागतमै  सजिलै बनाउन सकिन्छ । नेपालका अधिकाश ट्राफिक लाईट नचल्ने अबस्थामा छन जसमा फोटोको आधारमा सवारी चाप पत्तालगाउन “ इमेज प्रोसेसिङ ” प्रबिधि प्रयोग हुन्छ, रमाइलो पक्ष के छ भने सो बिषय नेपालका केहि प्राबिधिक कलेजहरुमा अध्यापन गरिन्छ तर प्राबिधिकहरु  विदेशबाट झिकाईन्छ । ट्राफिक लाईट नेपालमै निर्माण हुन सक्छ ज्ञात रहोस ।

यस्ताकुराहरुको अध्यापन नेपालमा सुरुवात गरिएको लामो समय भईसक्दा पनि अध्ययन र अध्यापन गर्ने बाहेक अरु सबै अर्को कोल्टे फर्केर  लामो श्वास फेरिरहेको अवस्था हो जुन सायद हामीसँग भवन निर्माणबाहेकको इन्जिनियरिंग जनशक्ति पनि छ है भन्ने कुरामै बहुसंख्यक बुज्रुकहरुनै बेखबर हुनाले पनि केहि कठिनाई उत्पन्न भएको हुन सक्छ । यदि यस्तै अवस्थाले निरन्तरता पाइरहने हो भने विश्व बजार टेक्निकल होडबाजीमा उत्रेको बेला कुना पसेर टांग मुनि पुच्छर लुकाउनु बाहेक नेपालसँग अर्को विकल्प खुल्ला रहने छैन । कम्तिमा पनि नेपाली व्यबसाहिक अर्थतन्त्र प्राबिधिक रुपले सचेत भैदियो भने मात्रै पनि पलायनको भारीले, तिक्ष्ण क्षमता भुत्ते हुन पाउने छैन र स्थानीय उत्पादनमा केहि प्रबिधि जन्य उत्पादन पनि हुने छन कि । इति श्री !