Monday, 31 March 2014

राबतको राजधानी मास्तिरको भूगोल

       पथ्र्योदाश प्रमिल
         Email: duo.fello@gmail.com

राबतको राजधानी मास्तिरको भूगोल

पर्खालभित्रबाट

हिजोआज लेखनमा राजधानी प्राय: प्रतीकात्मक प्रस्तुत भइरहेछ , सायद राजधानी बिस्तारै सपनाको शहरमा परिणत हुन थालेको हो कि ? हुन त राजधानी भित्रपनि फरक फरक अर्धब्यासका राजधानी वृतहरु जन्मिएका छन । लेखकहरुले  सबैभन्दा बाहिरको वृत्तिय परिधिबाट क्रमसः भित्र तिरका गोलाहरुलाई उप्काएका छन लेखनमा । प्याज जति भित्र पुग्यो त्यतिनै गन्हाउंछ, उस्तै प्रतित हुन्छ राजधानी पनि । खैर, राजधानी सुख र सौखको बिम्बात्मक प्रयोग हो । नेपाली लेखनको श्रीबिन्दु काल देखिकै यो बहुचर्चित बिम्बबातै न्वारन भएको एउटा नयाँ कविताकृति हो “ राजधानी मास्तिरको राजधानी ” ।
अरुको ढाडको भरमा उभिएर दौडिने सपना अधिकांशले देख्छन, गज्जब छ साहित्यको दुनिया पनि स्थापित, चर्चित र शिरमा हिउँ फुलेकाहरुसँगनै भूमिका लेखाउनै पर्ने साँघुरो मानसिकताबाट यो गुज्रिरहेकै बेला रावतको कविताकृति अलिक भिन्न तवरले अवतरित भएको हो । आफ्नो अनन्य मित्र र समकालीनले जस्तो कुनै पनि लेखकलाई कसैले बुझेको हुदैन । निरज भट्टराई समकालीन लेखक हुन अनि राबत जस्तै गजलकार र कबिपनि । निरजले एकदमै  नजिकबाट देखेका छन कविता भित्र र बाहिर दुबैको राबत र पोखिएका छन भूमिका बाहिर भरि ।
सामाजिक दुराबस्थाको न्यायिक चित्रण सहज होइन र कहिल्यै हुदैन पनि । सरल शब्दको प्रयोगमा बोधगम्य भाब संयोजन राबतको मौलिक बिशेषता हो । कृतिभरि समाजको कालो पाटो र देशको जर्जर कालखण्ड सालिक बनेर उभिएको छ । हामी आफैले भोगेको दुखान्त जिन्दगीको काब्बिक लेख्य स्वरूपनै राजधानी मास्तिरको राजधानी हो । आम समुदायले भोग्ने बेदनाको हृदयस्पर्शी प्रस्तुतिकरणले जति कृतिलाई मौलिक र पठनीय बनाएको छ , उतिनै बिम्बको घुमाउरो प्रयोगले सशक्त पनि । पोखरी जमेको पिडा र परिवर्तन नभएको प्रतिकुलतासंगै, भेल बगेको आँसु एकै चोटी सम्बोधन गरेका छन कविले “सम्बोधन”मा
जसरी
छोडेर गएकाथ्यौ 
खाँदाखांदैको आधा गाँस
गोडदागोडदैको आधा पाखो
रुँदारुंदैको आधा आँसु
हो, त्यहींबाट सम्बोधन गरिरहेछु तिमीलाई –.............(सम्बोधन)

सम्बोधन कविताभरि समयको अभिब्यक्ति दिएका मात्र छैनन कविले, निस्प्रिय चेतनाद्वारले देख्ने आशामोह पनि पोखिदिएका छन जस्तो कि

त्यता कतै बालकको हातमा
कागजको जहाज देख्यौ भने,
सम्झनु-पत्र सकुशल तिम्रो हातमा पर्यो......... (सम्बोधन)                               

शब्दहरु आफैमा प्रीतिकर हुदैनन् तर सृजनाको तिलस्मी बहुपासले गज्जबको इन्द्रेणी बनाउन सकिँदो रहेछ शब्दहरुको । त्यसो त राबत आफ्नो यहि क्षमताले पहिलेनै लेख्नेहरु माझ चर्चित छन । उनि लेखेर मात्र होइन जितेर पनि चर्चित छन धेरै कविता स्पर्दाहरु, सिधै हृदयको कुनामा हिर्काएर संवेगिय बनाउने उनको बिशेषताले । उनले जुनसुकै रङ्गमा पनि उतारेका छन मातृस्नेह र प्रेम सायद रेखाहरुसँग खेल्ने र स्केच बनाउने बानीले पनि अभ्यन्तरबाट केहि पोखिएको होला - मगजको “सबकन्सस”

तिमी आउँदा
सबैथोक बिर्सिए पनि
नबिर्सी ल्याउनु दुई-थोक मन र मुस्कान

सँघारमा
रारा र फेवाको जलघडा बोकेर
पर्खिरहेको मै हुनेछु । ( निमन्त्रणा )     

म कविता कृतिको विश्लेषणात्मक लेखन मन पराउदिन, राम्रो र नराम्रोको न्यायिक तराजुमा कसैको सिर्जनापनि जोख्न मिल्दैन । भाबको धार्नी पुर्याउन खोज्नु भन्दा अर्को मुर्खता केहिहुनै सक्दैन । मैले जे लेख्न खोजेको छु त्यो राबतको कविताकृति भित्र भेटिएका स्पटिक अनुहारहरु मात्र हुन । यसको अर्थ यो होइन “राजधानी मास्तिरको राजधानी” कविताको अलौकिक पुस्तक हो । बरु यो भाबको सन्तुलित प्रयोगको नविनतम उदाहरण भने हो ।

क्रान्तिचेतको रेतिले लाग्नेगरि धारिलो बनाईएका कविता हरफहरुले मथिंगलमा रवाफिलो हमला गर्छन घरिघरि । कुनै कविता पनि छैनन परिवर्तनको लालटिन बालेर निर्मम दमनको चारकोसे झाडीको सफरमा ननिस्केका तर केहि संगको उज्ज्यालो परैबाट प्रष्ट देखिन्छ । कवितामा असन्तुस्टिको ज्वालामुखी छोड्नु पहिले कर्तब्यबोधले निथ्रुक्क भिजेका  छन कबि । पुरापुर सचेतना भेटिएको छ आवाज उठाउने तरिकामा पनि ।

संधैसंधै आँखामा ठोक्किने
संधैसंधै बाटो छेक्न खोज्ने
संधैसंधै एकसुरले फर्फराइरहने
यो देशको झन्डाजस्तै,
त्यो पिपलको हाँगामा झुन्डिएको
रातो सलबरमा गन्हाउने
तात्तातो विर्य कसको हो ? ( कसको हो ?)

यदि गाँस, बास र कपासको नाममा मैले
देश छोड्नु पर्यो भने क हुन्छ ?

जवाफ दिनु पर्नेछ देशले
आउने पिंढीहरुलाई ।   ( जवाफदेहि ) 
शब्दहरुमा दृष्यानुभूत दिन सक्नु लेखकको सफलता हो, पात्र आफै जुर्मुराएर पाठकको ठिक आगाडी उभिएर बताएजस्तै लाग्छन कविता । आयातित पात्रहरुको जटिल जीवन चित्रण गर्नु र अतिरन्जना थप्नुको रोगबाट कबि कंहि पनि प्रवाभित छैन बरु उसले आफ्नै छाती भित्रको पखेराबाट खोजेको छ पात्रहरु र खुला पारिदिएको छ हृदयको आकाश । यस्ता भुइँपात्रहरुको कथानक प्रस्तुतिले कवितालाई सजिब तुल्लाएको हो ।
  
परिबर्तन उठानमात्र होइन अठोट पनि हो ,भ्रमको जालो पन्छाएर दृढताको सिल्प खोप्न त्यति सजिलो छैन जति सजिलै सोच्न सकिन्छ । आँट र बिश्वासको आंचलले पुरै छाती ढाकिनु पर्छ र दमनको चापले च्यातिनु पर्छ सहनशीलताको सिमारेखा अनि मात्र जन्मिन्छ दूरी मेट्ने अद्भूत साहस । यो विषमताको पत्रपत्र केलाएर पाठकलाईनै बेचैन हुनेगरी छाती भरि डढेलो लगाउछन कविले । अनुभुतिको पेरुंगोमा गज्जबसँग मच्चिनु पर्छ अनि मात्र स्खलन हुन्छ भाबको यो संवेग ।
सक्नुहुन्छ भने,
ठुन्क्याइदिनुस मेरा यी
ल्याप्चे लाउंदा-लाउंदा लाटा  भएका औंलाहरु
फुटाईदिनुस् मेरा यी
सपना मात्रै देख्ने आँखाहरु
सक्नुहुन्छ भने,
जफत गरिदिनुस मेरा यी
फिता छिनेका चप्पल र नाम्लो

तर यसपाला म हजुरको सहरबाट
रित्तो हात फर्कने छैन ।       ( ओ, समय! )   

निरजले लेखेका छन राबतका केहि स्वतन्त्र लेखनका उपजहरु मास्टरपिस कहलाइनेमा कुनै शंका छैन र मेरो पनि सहमति छ यसमा । केहि कविताहरु “सो-पिस” जस्तै बजारिया अर्थतन्त्रको मर्मानुभुतीका उपज जस्तै लाग्छन तर पनि काबिक्ता हराएर कुनै पनि कविता नपुंसक बनेका छैनन् त्यो नै सबलता हो ।     

कवितामा भाबको आंधीमात्र होइन उस्तै बिम्बको ग्ल्यामरमा कबि उत्रिएका छन । मलाई कँही अल्झाइदिए र सोचको गहिराई तिर धकेलिदिए भने यस्तै पङ्क्तिहरुले गरे । बिम्बको यो घनिभूत सम्योजनमा उनको कला गज्जबको देखिएको छ । उनको सर्जकिय क्षमतको परिचय बनेर सङ्ग्रहभरी छरिएका यिनै हरफहरु हुन, जसमा शब्दको बेजोड प्रयोग छ  ।

भुइंमा पछारेर काला बादलहरु
कुल्चिदिन्छु हरिया खुट्टाहरुले
र, झुण्ड्याइदिन्छु घाँटीमा सुनौला बालाहरु ।   ( समय चक्र )  

यौन कँही न कँहीबाट सुख र सन्तुस्टिको पर्यायवाची बनेर देखापरेको अनुभुत हुन्छ कृतिमा, बिम्बहरुको कठघरामा बडो खरो उतारीदिएका छन राबतले “सेक्स साइकोलोजी” । प्रेमलाई बिशिष्ट अर्गाजम बनाएर प्रस्तुत गरिएको छ शिर्ष कवितामा पनि । मदिराले पनि छोडेको छैन केहि कविताहरुलाई तर यो लेखनको पुरातन बिशेषता हो, खैर जे होस प्रस्तुतिको शालिन कसिले यो घनिभूत बनेको छ ।

म पनि राबतको लेखनीको छिटो मसी हुँ र म पनि अभिभूत भएको थिए लेखनमा आफूलाई भेट्टाएर । लामो समय पछी काब्बिक लेखनको “ग्याप” लाई राजधानी मास्तिरको राजधानीले हटाईदिएको छ र कविता लेखनको वृतमा ठुलो हलचल ल्याएको पनि छ । रावतको यो कामुक उपस्थिति सदा रहोस शुभकामना । इति श्री ।

तेरो यो पुस्तैनी भट्टीबाट
तन्तनी पिएर कीरा परेको छ्यांङ्
आइज ,
हाम्ले पनि चिच्याई-चिच्याई भन्दिउ –
“हामी पनि हौ यंहाको मालिक-मालिक्नी ,
हाम्रो पनि छ तिम्रो जस्तो राजधानी ।   ( राजधानी मास्तिरको राजधानी )

   

No comments: