खर्पनभरिको प्रबिधि र रित्तो बजार
पर्खाल भित्रबाट पथ्र्योदाश प्रमिल
प्राबिधिक क्याम्पसको प्रवेश लगत्तै मैले सिकेको र मलाई सिकाईएको कुरा
थियो, औसत नेपालीले प्राय देख्ने र प्राय नपुग्ने सपना हो प्राबिधिक शिक्षा र
उसबेला म भाग्यको होचो उचाई भएकाहरुको अजंगको भिडले माथितिर हेर्दा देख्ने सपनाको
ताजमहलको सानो झुण्डको सदस्य भएकोमा पुलकित भएको थिए पनि , कुनै ठुलो युद्ध जितेर
सकुशल फर्केको सिपाई जस्तै । हामीहरुलाई राम्ररी अवगत गराईयो पनि थोरै नेपालीहरु संग
मात्र शिक्षाको पंहुँच छ , पहुँच हुनेमध्धे थोरैले मात्र माध्यमिक तह उत्रिण
गर्छन, ति मध्धे थोरैले मात्र बिज्ञान बिषय पढ्छन र बिज्ञान पढ्ने मध्धे पनि
थोरैले मात्र प्राबिधिक बिषय अध्ययन अनुमति पाउछन । मैले पनि कण्ठस्थ पारेको थिए, केहि
औपचारिक कार्यक्रममा काम लाग्ने सम्भाबनाले । तर मैले कहिल्यै पनि सिकिन वा सिकाईएन
अध्ययन पछी त्यो फिल्टर जनशक्त्ति के गर्छ
र कंहा जान्छ ।
धेरै पछी मात्र हामीहरुले थाहा पाएका थिएउ मान्छेलाई मान्छेले नै मेशिन
बनाउने शृंखलाको यो पनि एउटा पाटो हो , र केहि महत्वाकांक्षीहरु हामीहरुलाई सपना
देख्ने मेशिन बनाएर मानसिक सन्तुस्टी लिईरहेछन । हामीहरुले गरेका मानसिक ग्रान्ड
स्टन्डहरुको फाइदा लुटेर । स्वाभाविक हो , बलिया बाघहरुलाई खोरमा थुनेपछी बनको
बाटो लुरे स्यालहरुलाई पनि हिड्न डर हुदैन । सम्मानको मसलेदार ललिपप देखाएर नेपालभित्रकै
खोपडी क्षमतालाई रुग्ण बनाइएको छ । क्षमता र गुणस्तरलाई अचानो बनाएर , व्यापारी
माफिया प्रवृति हाबी भैदिएको छ बजारभरि र बाध्यबनाइएको छ जबरजस्ती पलायन हुनलाई उत्पादित ब्यपारिक बौदिकता । आम
समुदायको हस्तक्षेप्कारी उपस्थितिको अभाबमा च्याउ उम्रन सहज ओसेपिलो छायाँ थलो बनेका
यो र यो जस्तै अन्य क्षेत्रहरुमा यो प्रवृति बाँसझैँ झ्याँगिएको स्पस्ट हो ।
अर्थशास्त्रको सामान्य नियमको पनि हेक्का नराखेर , निरन्तर उत्पादन
गरिरहेछ देशले निकासी लायक सस्तो मूल्यका मानब
रोबोटहरु बर्षौदेखी र सट्टामा रेमिट्यान्स भित्राएको पार्टीमा गजधुम्म बसेर खित्का
छोडीरहेछ , पौराणिक राक्ष्यशि पारामा कतै पनि अभिभावकीय ममता अनुभब नहुने गरि ।भलै,अब
पनि सुन्नेहरुले सुनेर पनि नसुने जस्तो
नगरुन र देख्नेहरुले नदेखे जस्तो नगरुन जुन कुरा छापाहरुमा बारम्बार छापिएको छ,
यत्ति हो ।
प्रसङ्ग बदलौ, यसरी गिर खेलिदा खेलिदै पनि प्राबिधिक शिक्षालयहरुमा
केहि राम्रा र अनुकरणनिय कामहरु भने भैराख्छन, तर भएका कामहरु न बाहिर आए न
ल्याउने प्रत्यननै गरियो । हामी पनि केहि गर्न सक्छौ है, भन्ने दृढता बोकेकाहरु
पार्श्वको बटम लाइनमै अल्मलिए र शैक्षिक
अराजकताको यो चपेटोमा परे पनि । अब हामी प्राबिधिकरुपले कति सक्षम छौ भनेर खोज्ने
बेला आएको छ । सन्
१९७२ मा इन्जिनियरिंग अध्ययन संस्थान( त्रिभुवन बिश्वबिध्यालय)को स्थापना पछी, संस्थान
भित्र भिन्न प्राबिधिक तहका हज्जारौ साना तथा ठुला प्रोजेक्टहरु बर्षेनी निर्माण
हुन्छन , जुन प्रोजेक्टहरु कुनै परिवर्तन नगरी वा थोरै परिवर्तन गरेर स्थानीय
रुपमा उत्पादन र प्रयोग गर्न सकिन्छ । प्रोजेक्ट निर्माणमा सकेसम्म नया र नौलो
प्रयोगमा ग्राह्यता दिइने भएकोले एक आपसमा उस्तै प्रबिधि दोहरिने सम्भावना पनि
न्युन हुन्छ । इलेक्ट्रिकल क्षेत्र अन्तर्गत पर्ने सोलार प्यानल, माइक्रो हाइड्रो,
पिको हाइड्रो, ओपन टबाइन, विधुतीय भार सन्तुलन उपकरण सम्बन्धि प्रोजेक्टहरु , इलेक्ट्रोनिक्स
र कम्प्युटर क्षेत्र अन्तर्गत पर्ने जीएसएम ( मोबाइल फोनले सन्चालन गर्न सकिने ), जीपीएस ( स्थानअनुसार चल्ने ), रिमोट
कन्ट्रोल, ताररहित श्रब्यदृश्य प्रसारक आदि जस्ता प्रोजेक्टहरु बहुआयामिक र प्रयोगमुलक
छन । यस्तै प्रोजेक्टहरु काठमाडौँ विश्व-बिध्यालय पोखरा विश्वबिद्यालय र
पुर्वान्चल बिश्व बिध्यालयमा पनि सम्पन्न हुन्छन जसको लागि लामो सूची र फराकिलो विश्लेषण
चाहिन्छ ।
यस्तै जनस्तरमा “ होम अटोमेसन एण्ड सेक्रूटि ” सम्बन्धि धेरै
प्रोजेक्टहरु प्रयोग हुनासक्छन । स्पेशल कार्डको आधारमा, बोलीको आधारमा, वा
अनुहारको आकृतिको आधारमा मात्र प्रवेशगर्न मिल्ने सिस्टम, तापक्रमको आधारमा
स्वचालित मेशिन, मादक पदार्थ खाए नखाएको नाप्ने ब्रेथलाइजर, गाडीको गति नाप्ने
यन्त्र जस्ता सामान्य प्रविधिमा आधारित समानहरु सजिलै निर्माण र प्रयोग गर्न
सकिन्छ ।लेखकले एकपटक नेपाली सेनाले आयोजना गरेको मिलिटरी प्रोजेक्ट सम्बन्धि
सेमिनारमा सहभागी हुने अवसर प्राप्त गरेको
थियो । नेपाली सेनाले बम निस्क्रिय पार्न प्रयोग गर्ने रोबोट विदेशबाट आयात
गर्नुपर्ने बाध्यता छ जुन अतिरिक्त क्षमतासहित नेपालमै उत्पादन गर्न सकिन्छ । शत्रुको
गतिबिधि निरिक्षण गर्न जासुसी रोबोट , जस्तो सुकै ठाउमा हिड्न सक्ने “ अल टेरान ”
रोबोट , स्वचालित फायरिंग राइफल आदि सेना तथा प्रहरीको लागि अत्याबश्यक सामानहरु
चाहेको खण्डमा न्युनतम तागतमै सजिलै बनाउन
सकिन्छ । नेपालका अधिकाश ट्राफिक लाईट नचल्ने अबस्थामा छन जसमा फोटोको आधारमा
सवारी चाप पत्तालगाउन “ इमेज प्रोसेसिङ ” प्रबिधि प्रयोग हुन्छ, रमाइलो पक्ष के छ
भने सो बिषय नेपालका केहि प्राबिधिक कलेजहरुमा अध्यापन गरिन्छ तर प्राबिधिकहरु विदेशबाट झिकाईन्छ । ट्राफिक लाईट नेपालमै
निर्माण हुन सक्छ ज्ञात रहोस ।
यस्ताकुराहरुको अध्यापन नेपालमा सुरुवात गरिएको
लामो समय भईसक्दा पनि अध्ययन र अध्यापन गर्ने बाहेक अरु सबै अर्को कोल्टे
फर्केर लामो श्वास फेरिरहेको अवस्था हो जुन
सायद हामीसँग भवन निर्माणबाहेकको इन्जिनियरिंग जनशक्ति पनि छ है भन्ने कुरामै
बहुसंख्यक बुज्रुकहरुनै बेखबर हुनाले पनि केहि कठिनाई उत्पन्न भएको हुन सक्छ । यदि
यस्तै अवस्थाले निरन्तरता पाइरहने हो भने विश्व बजार टेक्निकल होडबाजीमा उत्रेको
बेला कुना पसेर टांग मुनि पुच्छर लुकाउनु बाहेक नेपालसँग अर्को विकल्प खुल्ला रहने
छैन । कम्तिमा पनि नेपाली व्यबसाहिक अर्थतन्त्र प्राबिधिक रुपले सचेत भैदियो भने
मात्रै पनि पलायनको भारीले, तिक्ष्ण क्षमता भुत्ते हुन पाउने छैन र स्थानीय
उत्पादनमा केहि प्रबिधि जन्य उत्पादन पनि हुने छन कि । इति श्री !

No comments:
Post a Comment