Monday, 17 March 2014

धुँवाको धागोले बनाएको आकृति




स्रस्टाले  हृदयको भित्रिकापदेखि शब्दको झंकार अलापेर, बिम्बको कारागार भित्र पाठकलाई बन्दि गराउनु र उसलाई उसकै कल्पनासिल्पले कोरेको भुगोलका पहाडहरुमा , छिटपुट आकाशमा देखिने बादलहरुलेझैँ लुकामारी खेलाउनु कम्ता मुस्किल र सकसको कुरो हैन सायद । उसो त  लेखकभित्र हुने यहि जादुमयी तिलस्मी क्षमताले उसलाई समयको निर्मम कठघरामा खरो उतारी दिएको छ र उ सफल भएको पनि छ , भित्रै सम्म थिलथिलो हुने गरि बिथोल्न चत्यानी छातीहरुलाई सिर्जनाको हथौडाले । पश्चिमीकथाको पात्र थोरको जस्तै यो आश्चर्यजनक हतियारले क्षणभरमै नयनहरुलाई सिमसार त क्षणभरमै ओठहरुलाई चन्द्र मुखी बनाइदिएको छ । बिचरो निम्छरो पाठक शब्दहरुको रंगहरुमा आफुलाई खोज्दा खोज्दै हराउँदो हो र प्राय अलिअलि आफ्नो पनि आकृति मिल्ने रेखाहरु भेट्टाएर खुसीले तरलिकृत भएर जथाभाबी पोखिन्छ  पनि होला । म पनि धेरैपटक दिग्भ्रमित भएको छु कतै अन्तरको सिसि क्यामेराबाट लेखकले मेरो जिन्दगी नियालेर शब्दको सिलसेबरमा रुपान्तरण त गर्दैन ? अन्तिमपल्ट एउटा कविता कृतिमा , म यस्तै दिग्भ्रमको नशाको उतारचढाबले अन्तस्करणबाट उथलपुथल भएको थिए, परेलिको ढोकाबाट कैद गरिसकेको आकृतिलेनै , मथिंगललाई यसरी हल्लाएको  सत्यलाई स्वीकार्न नसकेर आँखाहरु धमिला भए, मैले अनायासै हार्ड कभरको आन्तिम पृष्ठमा औलाहरुले सुम्सुम्याउन पुगेछु । समुन्द्र जस्तै त्यंहा, त्यँही कविको अर्धकदको आकिर्ती उभिएको थियो, जसले मेरो मनलाई चंगा बनायो, निलो आकाश तिर फर्कायो, उडायो र धागो काटिदियो, म अब पुरै टुटेको थिए र हावाको झोक्काले स्वछन्द नियन्त्रण गरेको थियो मलाई । म जब आकाशको गहिराईमै हराउने सोचमा निमग्न थिए , झोक्काले कंहि कतै अक्करमा लगेर पछारी दियो । कविले त्यस बेलाको मलाई पनि आँखीझ्यालबाट नियाल्न बिर्सेनछ , म जस्किए ईश्वरले जस्तै कविले पाठकलाई नचाएर , निरोशैलीमा मुरली त फुक्दैन ??
मेरो घरको अघिल्तिर
जब स-साना नानीहरु भुरुङ खेलिरहन्छन
मलाई लाग्छ ,
ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ
ऊ नालले बेरेर फुत्त फालिदिन्छ मान्छेलाई दुनियाँमा
र ताली बजाई रहन्छ मान्छेको नाचमा

ती नानीहरुलाई जस्तै
स्वयम् ईश्वरलाई पनि थाहा नहुन सक्छ
जब मान्छे रोकिन्छ- ऊ गुडेर कँहासम्म पुग्छ।        
                    भुरुङ धुँवाको धागो
अबको नँयापृष्ठमा लेखक उस्तै रहदैन कि भन्ने शंकाको आभास सम्म पनि हुन पाएन न त कविले सुरुमा जस्तै जिन्दगीका टुक्रा खुसि र टुक्रा दुखहरुमा संसारिक चेतको तिखो धारले हिर्काउन छोड्यो बरु लगातारको नाभीदिलको प्रहारले मुर्छित बनाईरह्यो । कविताको दुईचार हरफमै यतिधेरै उर्जाको घनिभूत संयोजन , बिम्बहरूको सामन्जस्य प्रयोग र भावको स्फटिक सम्प्रेषण कस्तो  अन्तस्करणबाट सम्भब हुँदो हो ? सुक्ष्मतर घटनाहरुमा यसरी मानबिय संबेदना पोखिदिएर , भाबका छालहरुसंगै उत्ताल समुन्द्रमा सफर गराईदिए पछी पाठक टिठ लाग्ने गरि नआत्तिनै कसरी सक्छ ? सक्दैन ।
राजधानीबाट पोखरा अवतरण भएको दुई –चार दिनमै कविताकृतिले रेक्टर स्केल क्षमतामाथिको कम्पन मेरो दिलमा छोडेको थियो त्यसो त  लेखन र लेखकीय स्वभाबको ध्रुबसत्तिय जटिल समीकरण शब्दको मालाभित्र कसैगरि उनिदैन र कसैको सर्जकिय अन्तर चेतबाट सृजनात्मक प्रसव बेदनापछी जन्मिएको नवजात शिशुलाई  मूल्यांकनको तराजुमा राखेर मोलतोल गर्नुभन्दा  असहिषणु र अन्याय के होला ? मलाई मगजको खिरखिरावाटबाट अक्षरहरु गुथेर प्रसंशाको  पहाड ठड्याउन छैन, म जे लेखेको छु मन आफै अभिभूत भएर लेखेको छु , अरु कबि चेतना मोहबाट निरपेक्ष बसेर । दुनियाको कुन प्राणी आफुले जिन्दगीमा काटेको दूरीभरिको व्यथाबाट अलग्गिएको छर ? कसको जीवनको कन्तुरमा जतनसाथ राखिएको छैन होला आफ्नो छातीमा अरु नटराज नाचेको दृश्यको रिल । कविले कथानकको जालो फालेर प्रतेक कवितामा इन्द्रजाल बुन्छ र थाहै नपाई पाठकलाई कविताको पात्र बनाएर  अनपेक्षित अन्त्य गर्दिन्छ । सायदै त्यस्तो पाठक छैन होला , जो आफु कथानकको बाटो हिडेर भर्खर आइपुगेको अस्विकार गरोस । सेवा निवृत सैनिकले बताएको युद्दकालिन अनुभुती जस्तै ।
आज, फर्की हेर्दा
कोइलाहरू थिएनन बाटोमा
अरुले टिपी सकेछन भुइँबाट

समयले अफ्ठ्याराका कोइलालाई
हीरा बनाई दिएछ ।
     जम्मै अफ्ठ्याराहरु जलाएर ..... धुँवाको धागो


   मानबिय प्रवृतिको कुरूप स्वरूप पनि शब्दहरुको हिउँ तन्न्नामा, सफेद टल्किएको भेट्टाउदा, जसरी तातो फलाम उपर चिसो पानीको स्पर्शले मौनता तोडेर बाष्फीकृत भैदिन्छ, उस्तै शैलीमा रछ्यानी मन बढारेर, बेचैन छोडेर हराईदिन्छ कविता । जस्तोकि हिउँ बर्सिएको रातको भोलिपल्ट, बादल हराएपछि कन्चन हिमालले, कँहा हो कँहा दिल चिमोटेर अनौठो उन्माद छादिदिन्छ, उस्तै गरि हृदयको फ्रेमलाई पारदर्शी तुल्याएर छातीको अन्तरमा गहिरो सँग घरि-घरि हिर्कउन्छ कविले । कलिलो पोथ्रा मस्तिष्कको निश्चल क्यानभासमा भाबको इन्द्रेणी पोखिदिँदा , संवेगको हिउँ नदि पग्लिन्छ र परेलीको ओठबाट बगेको पत्तै हुँदैन ।
त्यँहा बिहानी बस्छे ,एक्लै
तर घरमा देखिने को हुन कसैलाई थाहा छैन भन्छन
    फुच्चे गाइड बताउँछ धुँवाको धागो

म सोच्थे –
कोल्टे फेरिरहने समयको कुइनोले लागेर
एकदिन जब खुत्रुके टुट्ने छ
त्यति बेला
यी कागजका सिक्काले
आफ्नो बचपन किन्ने छु
              खुत्रुक्रे  धुँवाको धागो


पोखरा हटलाइनमा प्रकाशित लेख
शृंखलाबध्द उतार-चढाब पस्किरहने समयपनि भोगाईको परिमितिमा निन्याउरो मुख बनाउनेगरी खुम्च्याएर प्राणीहरुको जिन्दगीभरिको सफरको नक्शापनि निमेषभरमै हेर्न सकिने बनाईदिएछ कविले, कस्तो सरलीकृत गर्नसक्ने खुबीले होला ? प्रतेक हरफमा प्रश्नको तगारो उभिरहन्छ, र अनूत्तरित फर्कन्छ । बिजगणितको हिसाबमा चिंन्ह्को फरकले उत्तरमा बिशाल अन्तर परेजस्तै, शब्दको थोरै स्थानान्तरणमा पनि कति सजक हुन सकेको होला ,कबि ? कविता स्वयं कबि र समालोचक बाहेकले पढ्दैनन् भन्ने प्रश्नहरुको इजलासमा, पर्खाल बनेको धुँवाको धागोको खिलापमा, कुन महापण्डित प्रवक्ताको डिलबाट कराउन हिम्मत राख्छ अब पनि ? कविताको नाममा निबन्ध लेखेर, बितृष्णाको खोलो बगाउनेहरुको युग यो होइन भन्ने प्रमाणको दस्ताबेज हो यो कृति ।



कविकै भाषामा पनि लेखन भन्दा पूर्व कल्पनाको भुइँगलमा डुल्ने दुईचुल्ठे सिर्जना कयैगुणा चन्चल र प्रीतिकर लाग्छे , लेखे पछी संधै अपुरो, अधुरो जस्तै । घरि-घरि लेखननै भाबको बधशाला हो कि जस्तो पनि लाग्छ , लेखेपछि थोरै शब्दहरुमात्रै जीवित भेटिने । आवाज र संवेगलाई पनि उतार्न मिल्थ्यो भने छाती भित्रको घबराहट म सबै रंगिन नै उतरिदिन्थे । खिया लागेको म्युजियमको ढोका भित्र जस्तै , कृति पढ़िसकेपछी धुँवाको धागोभरि जिन्दगीका सादा र रंगिन तस्बिरहरुको कोलाज नाचिरहे ।
सुनेको छु
आज बर्षौपछि जब त्यो ढोका खुल्यो
भित्र यौटा कविता भेटियो

जसको अनुहार हुबहु तिमी जस्तै छ ।
     नोस्टाल्जिया 
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
मिति २०७० चैत्र ०३ गते पोखरा हटलाईन प्रकाशित 

No comments: