Thursday, 28 December 2017

एक्लोपन

 पथ्र्योदास प्रमिल 
एक्लै, भयंकर एक्लै बाच्छ एउटा रुख 
मैले पनि ऎना  हेरेको बखत 
मरुभूमिको बिचमा टुक्रुक्क बसेको झाडी जस्तै 
देखिन्छ मेरो प्रतिबिम्ब
जब इनारबाट कहिल्यै झिकिदैन पानी 
इनार स्वयम् बेखबर हुन्छ, तिर्खाको मृत्यु संग 
घर; जब सम्म कसैले आगो बाल्दैन दलिन कालो हुने गरि 
डर बस्ने ओडार जस्तो लाग्छ
शुन्यता र रिक्ततामा कति इन्चको दुरि हुन्छ ? 
एक रुखको वरिपरि कसैले बसालेन भने चौतारीको जग 
झिकेन भने एक अन्जुली पानी इनारबाट 
बसेन भने कोहि, कोहिनुर दरबारभित्र 
वा सोधेन कसैले तपाइँको हालखबर 
बताएन कसैले दु:खको सौदाबाजी भने 
उभिरहन्छ एउटा हाडछालाको मुर्ति 
बाचिरहन्छ एउटा शुन्यता 
केही भएर पनि नभएको 
यदि, गरिहाल्यो भने शुन्यताले आत्मदाह ?
हुनसक्छ जन्मिछ एउटा रिक्तता 
बाचिरहन त बरु 
छिमलीरहोस कसैले रुखका हागा
लाग्न पाउन पालुवा 
भत्काईरहोस कसैले घरको कुईनेटो 
फेरि रहन पाउन इट्टा 
चिमोटीरहोस कसैले घाउ 
दुख्न पाईयोस घरीघरी 
कसैले नगिथोलेको जिन्दगी त 
चौतारो नभएको रुख जस्तो हुदो रहेछ । 

No comments: