Tuesday, 29 April 2014

भित्तामा टाँगिएको निरिह सिर्जना चेतना

आदिम मानवीय भूगोलबाट मान्छे जसरी आजको रंगिन सपनाहरुले घेरिएको युगमा अवतरित भएको छ त्यो सब कलात्मकताको उपज सिवाय अर्को के हुन सक्छ र ? कलात्मकता जुन जीवनको फरक शैलीको पर्यावाची हो , ठिक जीवन जस्तै अक्षरहरुको बक्ररेखामा कैद गर्न नसकिने । अर्थात निरपेक्ष आँखाबाट भोगाईको प्रारूप र त्यसमाथि मान्छेले देखाएको प्रतिक्रिया दुबै कलात्मकता हो । हो त्यहि भएर कलात्मकता स्वाधीन र स्वछन्द छ, कुनै पनि दुस्साहसले कैद गर्न नसकिने । यो एउटा एब्सट्राक्ट बिल्कुल एब्सट्राक्ट कुरा हो । मैले यंहानिर बताउन खोजेको कुरा के हो भने हामीहरुले देखेका सबै जीवनहरु कलात्मकताका उप-समूहहरु मात्र हुन ।
मान्छेको जुन कल्पनाक्षमताले आजको भोगाइको अवस्था सिर्जित भएको छ , स्वयम् मान्छेको लागि त्यो आश्चर्यजनक र अप्रत्यारिलो हो । मान्छे बिबेकले अरु प्राणी भन्दा फरक भएको होला तर निसन्देह: उ कल्पनाशिलातालेनै अग्रगामी भएको हो । ग्रिक सभ्यताको विकासक्रममा प्रतेक क्रियाकलापलाई कि सहि र कि गलत भनेर छुट्याउन सकिन्छ भन्ने दार्सनिक चिन्तन पनि सुरु भएको थियो, त्यो केवल बिबेक थियो । तर बिबेकको तिन अक्षरमा जंगली सभ्यतामा भएको आगोको उत्पत्ति अट्दैन । र अट्दैनन थोमस एल्वा एडिसन,न्युटन, आइन्स्टाइन र मार्कोनिका आविष्कारहरु । यी सबै उपलब्दिहरु मानवको बिशिष्ट अन्तरनिहित क्षमताले मात्र सम्भब भएका हुन, हो  त्यो क्षमतानै कलात्मकता हो ।
अब सायद पुष्टि हुनसक्छ लेखनको जग पनि त्यहि कल्पनाशीलता हो । लेखन र लेखकीय चेतना पनि मानवीय बिकासको सुचाकांक हो । यस अर्थमा लेखनको सभ्यता र विकाससँग अन्तरंग सम्बन्ध छ, अटुट, गहिरो र घनिभूत । लेखकहरुले बाटो देखाए परिवर्तनको र त्यहि बाटोबाट मान्छे यंहा सम्म आइपुग्यो । बिस्तारै दार्शनिक चेतना र परिकल्पनाको कोरिडर चौडा हुँदै गयो अन्तत: एब्सट्राक्ट लेखन देखिने बिकासको स्वरूपमा देखा पर्यो । साहित्य, संगीत र कलाका अनेक रुपहरु देखापर्न थाले , अब कल्पनाशिल्प चौडा मात्र रहेन उँचो पनि भयो । र दिनानुदिन यो क्षितिज बढ्दो छ, किनकि यो बिशिष्ट क्षमता मोह जन्मजात गुण हो । लेखनको इतिहासमा विलियम वोर्ट्सवोर्थ, सेक्सपियर, हेलन केलर ,लुसुन, गेटे, दाँते धेरै जनाको अभ्युदय पनि भयो । नेपाली साहित्यले पनि देवकोटा, सम, शंकर लामिछाने जस्ता लेखकहरु भेट्टायो । समाजसंगको अन्तरसम्बन्धले पनि हुन सक्छ, यो कुरामा धेरै जना जानकार पनि भए । अब लेखकहरुको अगाडी प्रश्न पहिचानको होइन, जीवन यापनको बन्यो ।
उ सँग मेरो भेट भएको धेरै भएको छैन, लगभग एक हप्ता जति अघि हुँदो हो । ऊ अर्थात एक साहित्य प्रेमी नारी युवा । कफी गफमा उसले एक्कासी भनि “ लेख्नेहरुको कुनै भाबिश्यनै छैन, सायद म अध्यनको लागि बाहिर जान्छु होला ” । उसले थपी “ प्रशंसा केवल लेखकको आगाडी मात्र गरिन्छ, पछाडी धेरै प्रश्नहरु तेर्स्याइन्छ । उसलाई  जागिर र जाउलोको समस्या पनि छ ” । यो उसले मात्र देखेको नेपाली समाज हैन , लगभग हामी सबैले देखेको हो ।


देश आफनै अनेकन समस्याहरुमा हरायो । बिकासका अन्य पक्ष सँगसंगै साहित्य र सिर्जनाको पनि उत्तिकै उत्खनन हुनुपर्थ्यो । तर त्यसो हुन सकेन । नेपालमा शिक्षा प्रणालीको विकास सँगसँगै साहित्यको अध्यापन पनि सुरु गरियो । खासगरि महाकवि देवकोटा शिक्षामन्त्रि भएको बेला बनाइएको माध्यमिक तहको अनिवार्य नेपालीले माध्यमिक तहका बिद्यार्थीहरुलाई यससंग परिचित गरिदियो । साहित्यलाई अन्य राष्ट्रमाझैँ सामाजिक बिज्ञान अन्तर्गत राखेर अध्ययन अध्यापन शुरु गरियो, यसरी नेपालमा साहित्य र सिर्जना चेतको प्रारम्भ भयो । आज लेखन यहि बिशिस्टतता मा बाँचेको छ । तर, साहित्यले जसरी सुन्दर सुरुवाती वकालत पाएको थियो बिस्तारै त्यो हराउदै गयो ।
आज लेखनलाई माया गर्ने र अध्ययन गर्नेहरु धेरै छन । सायद धेरै जनाले बुझिसकेका छन लेखको सुरुवातमै लेखेका कुराहरु । धेरै विकास र परिवर्तन साहित्यको विकास सँगसंगै भएका हुन त्यसैले साहित्यको सम्रक्षण र सम्बर्दन आवश्यक छ तर के यो कुरा कागजमा मात्र सीमित गरेर हुन्छ त ? यो युगको घडीमा आएर धेरै राष्ट्रहरुले बुझिसकेका छन स्रस्टालाई सम्मानको खाँचो छ र त्यसै प्रकारको ब्यवस्थापन पनि । यो साहित्यप्रतिको गहिरो बुझाई र सम्मान हो ।
आज नेपालले लेखनको यत्रो लामो दूरी पार गरि सक्दा पनि, लेखेरै गुजारा चलाउनेहरु कति छन् ? यो सुन्दा हल्का लागेपनि गहिरो प्रश्न हो ? लेखनको गहिराईको आधारमा सम्मानको मिटर स्केल बनाउनु पर्ने हो र सम्मान सिर्जनाको हुनुपर्ने हो । सिर्जनाशक्ति पनि एउटा सिकाई हो, जुन केवल कठोर मिहेनतले मात्र प्राप्त गर्न सकिन्छ । अब सिर्जनाकारको उक्त मिहेनतको कदर गर्नु पर्छ कि पर्दैन ? र सिर्जनाको कुरा गरिरहँदा यसको आकार बिशाल र फराकिलो छ । सिर्जना बहुआयामिक हो , संगीत र कला पनि यसकै अन्य स्वरूपहरु हुन ।
देश बिकासको लागि आर्थिक क्षेत्रको बढोत्तर प्रगतिमा लागिरंहदा, विकासकै पाटो कलात्मकतालाई बिर्सिनु हुदैनथ्यो । अति आर्थिक मोहले, सबैमा हुने सिर्जना मोह निस्पृह हुन पुगेको छ । दिनदिनै मटेरीयास्टिक हुँदै गैरहेको मान्छेको सोचले, उर्जाशील चिन्तनको सुन्दर चित्र उसको मगजबाट विस्तापित भएर गएको छ । मान्छेको जन्मजात सिर्जनाप्रेमी गुणलाई मान्छेबाट विभाजित गर्न त मिल्दैन तर यो कतै बाहिर सुरक्षित राखेको अनुभूति हुन्छ अर्थात नेपालीहरुमा रोपिएको सिर्जना चेतना सुरक्षित त छ तर यो कोठालाई सुन्दरबनाउन भित्तामा टाँगिएको सुन्दर चित्र जस्तै प्रतित हुन्छ । इति श्री ।      

No comments: